ग्रामथान गाउँपालिका
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका झोराहाट, मोतीपुर, तेतरिया, सिद्राहा,बनिगामा र लखन्तरी गाउँ विकास समितिहरूलाई समेटेर ग्रामथान गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३२,७१७ रहेको छ । यसको क्षेत्रफल ७१.८४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको तेतरियाको कार्यालयमा राखिएको छ ।[२]
ग्रामथान Gramthan | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | मोरङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | जय प्रकास गच्छदार थारु (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | गुणावती देवी थारु नेकपा ऐमाले |
क्षेत्रफल | |
• जम्मा | ७१.८४ किमी२ (२७.७४ वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | ३६,०२४ |
• घनत्व | ५००/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२१ |
केन्द्र | साविकको तेतरियाको कार्यालय |
पूर्वाचलकै ऐतिहासीक गौरव बोकेको मोरङ जिल्ला नेपाल अधिराज्यकै औद्धोयिक एवम् जनसङ्ख्याको हिसाबले दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ । त्यहि जिल्ला भित्र ७१.८४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको गाउँपालिका हो ग्रामथान । पूर्वमा बेलबारी र रंगेली नगरपालिका पश्चिममा बुढींगंगा गाउँपालिका, उत्तरमा सुन्दरहरैँचा नगरपालिका र दक्षिणमा विराटनगर महानगरपालिकाको बिचमा रहेको छ ग्रामथान गाउँपालिका । साविकका ६ वटा गाविसहरूको सुखद समायोजनबाट यस गाउँपालिकाको निर्माण मिति २०७३ साल फाल्गुण २७ गते भएको हो ।
यहाँको बासिन्दाको आम्दानीको मुख्य श्रोत भनेको कृषि रहेको छ जुन कुरालाई झोराहाट नाटक घर अगाडि राखिएको सम्भवत विश्वकै ठूलो हलोले उजागर गर्दछ । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्याधिक बढिरहेको छ । गाउँपालिका भित्र झोराहाट नाटक घर रहेको छ यसले यस गाउँपालिकालाई देश तथा विदेशमा चिनाउनको लागि ठूलो भूमिका खेलेको छ । विकासको प्रशस्त सम्भावना बोकेको यस गाउँपालिका आफुलाई पूर्ण खोप र खुल्ला दिशामुक्त गाउँपालिका तथा साविकको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविसको रूपमा घोषणा भैसकेको छ । यस गाउँपालिकामा अधारभूत देखि उच्चशिक्षा सम्म प्रदान गर्ने शैक्षिक संस्थाहरूको कमि छैन तर स्नातक तहका लागि यहाँका अधिकांश विद्यार्थी विराटनगर धाउनुपर्ने बाध्यता रहेको छ । यस गाउँपालिकाका बासिन्दालाइ माग बमोजिमको खानेपानी उपलब्ध गराउन सकिरहेको अवस्था छैन । स्थानीय तहको रूपमा कार्यारत यस गाउँपालिकाले नगरवासिहरूमा आफ्ना सेवाहरू सर्वसुलभ र छिटो छरितो रूपमा उपलब्ध गराउनुका साथै स्वच्छ र सफा खानेपानिको सुविधा उपलब्ध गराउने, प्रत्येक वडाहरूबाट बजार आउन जान यातायात चल्न सक्ने किसिमले कच्चि सडकहरुलाई क्रमश ग्राभेल, कालोपत्रे गर्ने । महिला, जनजाती तथा पिछडिएका वर्ग र समुदायहरूमा सामाजिक सेवा उपलब्ध गराउन पूर्वधारहरूको स्थापना गराउन सहयोग गर्ने, उन्नत कृषि प्रणाली तथा सो सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने गराउने, वृक्षारोपण गर्ने गराउने तथा वातावरणिय सन्तुलन कायम राख्ने कार्यमा सहयोग पुर्याउने, सुव्यवस्थित बसोवासको व्यवस्था तथा ग्रामिण सरसफाइ, ल्याणफिल्ड साइट, पशुबधशाला र पूर्वाधार सिर्जना गर्दै जाने । यहाँका सचेत नागरिक, गाउँपालिकाको उज्वल भविष्यप्रति एक हुने राजनीतिक दल अनि उत्प्रेरीत अनि लगनशील कर्मचारीहरुनै यस गाउँपालिकाको परिचयलाई स्थापित गराउने मूल आधार हुन भन्दा अतियुक्ति नहोला ।