भ्यागुते रोग

भ्यागुते रोग कोरिनेब्याक्टेरियम डिप्थेरी नामको ब्याक्टेरियमको सङ्क्रमणका कारणले हुने रोग हो।[१] यसका लक्षणहरू सामान्यदेखि गम्भीरसम्मका हुन्छन्।[२] सामान्यतया यस रोगका कीटाणुहरूको सम्पर्कमा आएको दुईदेखि पाँचदिनमा लक्षणहरू देखिन थाल्छन्।[१] घाँटी दुख्ने र ज्वरोबाट सुरु हुने यसका लक्षणहरू बिस्तारै बढ्दो क्रममा देखा पर्छन्।[२] गम्भीर खालका अवस्थाहरूमा घाँटीमा सेता वा खरानी रङ्गका टाटा देखा पर्छन्।[१][२] यसले स्वास्प्रस्वासको बाटो छेकेर कुकुर भुकेको जस्तो आवाज आउने खोकी लाग्न सक्छ।[२] लिम्फ नोडहरू बढ्ने हुनाले गर्धन केही सुन्निन सक्छ।[१] भ्यागुते रोग विभिन्न प्रकारको हुन्छ। कतैकतै छाला, आँखा वा जनेन्द्रीयहरूमा असर गर्ने खालको भ्यागुते रोग पनि भेटिएको छ।[१][२] भ्यागुते रोगका कारण हुन सक्ने जटिलताहरू मायोकार्डाइटिस (मुटुको मांसपेसी सुन्निने रोग), स्नायु सुन्निने समस्या, मिर्गौलाको समस्या तथा रगतमा प्लेटेलेसको कमीले हुने रक्तस्राव आदि हुन्। मायोकार्डाइटिसका कारणले मुटुको धड्कन असामान्य हुन्छ भने स्नायु सुन्निनाले पक्षघात निम्ताउन सक्छ।[१]

भ्यागुते रोग
विभाग:सङ्क्रामक रोग

साधारणतया भ्यागुते रोग प्रत्यक्ष सम्पर्कबाट वा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ।[१][३] यो रोग ब्याक्टेरियाको सम्पर्कमा आएका वस्तुहरूबाट पनि मानिसमा सर्न सक्छ। केही मानिसहरूले कुनै प्रकारको लक्षण नदेखाइकन पनि भ्यागुते रोगका कीटाणुहरू बोकेका हुन्छन्। यस्ता मानिसहरूबाट ती कीटाणुहरू अन्य मानिसहरूमा सरेर यो रोगले सक्रिय रूप लिन पनि सक्छ। भ्यागुते रोगको कीटाणु कोरिनेब्याक्टेरियम डिप्थेरीका मुख्य तीन उपप्रजातिहरू छन् जसले मानव शरीरमा विभिन्न किसिमका जटिलताहरू ल्याउने गर्दछन्।[१] सामान्यतया ब्याक्टेरियाले उत्पादन गर्ने विषालु पदार्थका कारण यो रोगका लक्षणहरू देखिने गर्दछन्। भ्यागुते रोगको पहिचान रोगीको घाँटीको अवस्था हेरेर गरिन्छ भने प्रयोगशालामा परीक्षण (कल्चर) गरेर यसको उपस्थिति रहे/नरहेको पक्का गरिन्छ। यो रोग एकपटक लागेर निदान भएपछि पनि भविश्यको लागि प्रतिरोध क्षमता प्राप्त हुँदैन।[२]

भ्यागुते रोगबाट बच्न डिप्थेरिया टक्सोइड नामको खोप प्रभावकारी हुन्छ। यो खोप विभिन्न प्रकारको मिश्रणमा उपलब्ध छ। बाल्यकालमा यो खोपलाई टिटानस टक्सोइड (धनुष्टङ्कारको खोप) तथा असेलुलर पर्ट्युसिस भ्याक्सिन (लहरेखोकीको खोप)सँग मिलाएर तीन वा चार पटक लगाउन सिफारिस गरिएको छ। त्यसपछि पनि प्रत्येक दस-दस वर्षमा यो खोप लगाउन सुझाव दिइन्छ। रगतमा एन्टिटक्सिनको मात्रा जाँचेर यो रोगप्रतिको प्रतिरक्षा मापन गर्न सकिन्छ। भ्यागुते रोगको उपचारमा इराइथ्रोमाइसिन वा पेनिसिलिन जी नामका एन्टिबायोटिक औषधिहरूको प्रयोग गरिन्छ। सङ्क्रमणको स्रोतको सम्पर्कमा पुगेका मानिहरूलाई रोग लाग्नबाट बचाउन पनि यी एन्टिबायोटिक औषधिहरूको प्रयोग गर्न सकिन्छ।[१] भ्यागुते रोग लागेको बेलामा स्वासप्रस्वासको बाटो खुलाउन आवस्यक भएको अवस्थामा शल्यक्रिया गरेर समस्या समाधान गरिन्छ। यस्तो शल्यक्रियालाई अङ्ग्रेजीमा ट्राकियोस्टोमी भनिन्छ।[२]

सन् २०१३ मा विश्वभर भ्यागुते रोगका ४ हजार सात सय रोगीहरू दर्ता गरिएका थिए।[४] जुन सन् १९८० मा दर्ता भएको सङ्ख्या (१ लाख) भन्दा कम हो। सन् १९८० भन्दा अगाडि प्रत्येक वर्ष करीब दस लाख भ्यागुते रोगका बिरामी पाइने गरेको विस्वास गरिन्छ।[२] हाल यो रोग सहारा मरुभूमिको दक्षिणमा रहेका अफ्रिकी देशहरू, भारत तथा इन्डोनेसियामा बढी मात्रामा भेटिने गर्छ।[२][५] यी स्थानहरूमा पनि प्रायजसो बालबालिकाहरू बढी प्रभावित भएको पाइएको छ।[२] सन् २०१३ मा भ्यागुते रोगका कारण करीब ३ हजार ३ सय मानिसको मृत्यु भयो जुन सन् १९९० को करीब ८ हजारभन्दा धेरै कम हो।[६] विकसित देशहरूमा पर्याप्त मात्रामा खोपको व्यवस्था गरिएको हुनाले भ्यागुते रोग दुर्लभ जस्तै भइसकेको छ।[२] संयुक्त राज्य अमेरिकामा सन् १९८० देखि २००४ सम्ममा जम्मा ५७ जनालाई यो रोग लागेको तथ्य दर्ता गरिएको थियो। भ्यागुते रोग लागेका मानिसहरू मध्ये ५% देखि १०% को मृत्यु हुने गरेको पाइन्छ। पाँचौँ शताब्दीमा सबैभन्दा पहिला हिप्पोक्रेट्सले यो रोगको बारेमा लेखेका थिए। त्यस्तै सन् १८८२ मा एड्विन क्लेभले यसको ब्याक्टेरियम पत्ता लगाएका हुन्।[१]

लक्षण तथा चिह्नहरू

भ्यागुते रोगका कारण देखिएको घाउ

भ्यागुते रोगका लक्षणहरू साधारतया सङ्क्रमण भएको दुईदेखि सात दिनमा देखा पर्छन्। यो रोग लागेपछि ३८ डिग्री सेल्सियस (१००.४ डिग्री फरेन्हाइट) वा त्योभन्दा बढी ज्वरो आउने, जाडो लाग्ने, थकान महशुस हुने, छाला नीलो देखिने (सियानोसिस), घाँटी दुख्ने, गला बस्ने, खोकी लाग्ने, टाउको दुख्ने, निल्न अप्ठेरो हुने, निल्दा दुख्ने, सास फेर्न गाह्रो हुने, छिटो-छिटो सास फेर्ने, गन्हाउने तथा रगत मिसिएको सिँगान आउने र लिम्फ नोडमा समस्या देखापर्ने जस्ता लक्षणहरू देखिन्छ। त्यस्तै मुटुको धड्कन एकनास नहुने समस्या (कार्डियाक अरिद्मियासिस), मुटुको मांसपेसी सुन्निने समस्या (मायोकार्डाइटिस) र क्रानियल तथा पेरिफेरल स्नायुको पक्षघात हुने जस्ता थप लक्षणहरू पनि देखिन सक्छ।

सन्दर्भ सामग्रीहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड