बुढीगंगा नगरपालिका
बुढीगंगा नगरपालिका नेपालको बाजुरा जिल्ला अवस्थित नौ वटा स्थानीय तहहरू मध्येको एक नगरपालिका हो । नेपालको संविधान २०७२ को निर्माण पश्चात राज्य पुनर्संरचनाको क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा स्थानीय तह निर्माण गर्ने निर्णय गरेपछि बाजुरा जिल्लामा पर्ने साविकका ब्रह्मतोला, कुल्देवमाण्डौ र बाह्रबिस गाविसहरू जोडेर बुढीगंगा नगरपालिका बनाइएको हो । यस नगरपालिकाको नामाकरण बुढीगंगा नदीको नामबाट गरिएको हो । यस नगरपालिकाको सिमाना पूर्वमा त्रिवेणी नगरपालिका र अछाम जिल्ला पश्चिममा खप्तड छेडेदह गाउँपालिका, उत्तरमा बडिमालिका नगरपालिका र दक्षिणमा अछाम जिल्लाको साँफेबगर नगरपालिका सँग जोडिएको छ । बाजुरा जिल्लाको पुरानो सदरमुकाम कुल्देवमाण्डौ (टाँटे) नौबिसमा यस नगरपालिकाको कार्यालय रहेको छ । पुरानो इतिहासलाई पल्टाएर हेर्दा बाजुरा राज्यको साशन चलाउने बार्जुकोटे राजाको दरबार पनि यसै नगरपालिकामा रहेको छ । दरबारको भग्नावशेष अहिले पनि हेर्न सकिन्छ । यस नगरपालिकामा बार्जुकोट दरबार, कुडीकोट दरबार, बयालचाका दरबारका साथै चुल्ठे देवी भगवतीको मन्दिर जस्ता विभिन्न धार्मिक तथा ऐतिहासिक सम्पदाहरू रहेका छन् । यस नगरपालिकाको कुल क्षेत्रफल ५९.२ वर्गकिलोमिटर रहेको छ भने यहाँको कुल जनसङ्ख्या २१,६७७ रहेको छ । यो नगरपालिका क्षेत्रफलको हिसाबले बाजुरा जिल्लाको सबैभन्दा सानो नगरपालिका हो भने जनसङ्ख्याको हिसाबले बाजुरा जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या भएको नगरपालिका हो । यस नगरपालिकालाई १० वटा वडाहरूमा विभाजन गरिएको छ । [१]
बुढीगंगा | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ७ |
जिल्ला | बाजुरा |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | नगर कार्यपालिका |
• प्रमुख | दिपक विक्रम शाह (नेपाली कांग्रेस) |
• उपप्रमुख | तारा खाती (थापा) (नेपाली कांग्रेस) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ५९.२ किमी२ (२२.९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,६७७ |
• घनत्व | ३७०/किमी२ (९५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको कुल्देवमान्डौ गाविसको कार्यालय |
वेबसाइट | budhigangamunbajura |