झारखण्ड

भारतीय राज्य

झारखण्ड पूर्वी भारतको एक राज्य हो।[८] पूर्वमा पश्चिम बङ्गाल, पश्चिममा छत्तीसगढ, उत्तरपश्चिममा उत्तर प्रदेश, उत्तरमा बिहार र दक्षिणमा उडिसा लगायतका राज्यहरूसँग यसको सिमाना जोडिएको छ।[३] यसको क्षेत्रफल ७९,७१६ वर्ग किलोमिटर (३०,७७९ वर्ग माइल) रहेको छ। यो क्षेत्रफलको आधारमा भारतको १५औँ ठुलो राज्य हो र जनसङ्ख्याको आधारमा १४औँ ठुलो राज्य हो। हिन्दी राज्यको आधिकारिक भाषा हो। राँची सहर यसको राजधानी हो र दुम्का यसको उप-राजधानी हो।[९][१०] राज्य यसको झरना, पहाड र पवित्र स्थानहरूको लागि परिचित छ। वैद्यनाथ धाम, पारसनाथ, देउरी र राजरप्पा प्रमुख धार्मिक स्थलहरू हुन्। यस राज्यको गठन १५ नोभेम्बर २००० मा गरिएको थियो, जुन पहिले बिहारको दक्षिणी आधा भाग थियो।

झारखण्ड
माथिदेखि घडीको दिशामा: दशम झरना, बिरला प्राविधिक संस्थान, दामोदर नदीको पञ्चेत बाँध, शिखरजी, वैद्यनाथ धाम, पतरातू राजमार्ग र दलमा अभयारण्य
झारखण्डको आधिकारिक छाप
झारखण्डको अवस्थितिको अवस्थिति
झारखण्डको अवस्थिति
झारखण्डको नक्साको अवस्थिति
झारखण्डको नक्सा
निर्देशाङ्क (राँची): २३°२१′N ८५°२०′E / २३.३५°N ८५.३३°E / 23.35; 85.33 ८५°२०′E / २३.३५°N ८५.३३°E / 23.35; 85.33
देश भारत
क्षेत्रपूर्वी भारत
स्थापना१५ नोभेम्बर २०००
राजधानीराँची
उप-राजधानीदुम्का
सबैभन्दा ठुलो सहरजमशेदपुर
जिल्ला२४
सरकार
 • अङ्गझारखण्ड सरकार
 • प्रदेश प्रमुखरमेश बैस
 • मुख्यमन्त्रीहेमन्त सोरेन
 • विधान सभाएकसदनात्मक
  • सभा (८१ सिट)
 • लोक सभा
 • उच्च अदालतझारखण्ड उच्च अदालत
क्षेत्रफल
 • जम्मा७९,७१६ किमी (३०७७९ वर्ग माइल)
 • क्रम१५औँ
जनसङ्ख्या
 (सन् २०११)[१]
 • जम्मा३२,९८८,१३४
 • क्रम१४औँ
 • घनत्व४१४/किमी (१०७०/वर्ग माइल)
वासिन्दाझारखण्डी
कुल ग्राहस्थ उत्पादन (सन् २०१९–२०)
 • जम्मा३.८३ लाख करोड (युएस$५४ बिलियन)
 • प्रतिव्यक्ति आय७९,८७३ (युएस$१,१००)
भाषा
 • आधिकारिक भाषाहिन्दी[३]
 • अतिरिक्त आधिकारिक भाषाहरू
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
मानव विकास सूचकाङ्क (सन् २०१९)ह्रास ०.५९८ (मध्यम) ३४औँ
साक्षरता (सन् २०११)६६.४१% (३१औँ)
लिङ्ग अनुपात (सन् २०२१)१,०५० /१००० [६]
वेबसाइटwww.jharkhand.gov.in
झारखण्डका प्रतीकहरू
प्रतीक
झारखण्डको निसान छाप
चरा कोइली
फूल पलाँस[७]
स्तनपायी भारतीय हात्ती[७]
रुख साल[७]
बिहार पुनर्गठन ऐन, सन् २००० द्वारा निर्मित

झारखण्डले भारतको खनिज स्रोतको ४०% भन्दा बढी हिस्सा ओगटेको छ[११] , तर यसको जनसङ्ख्या ३९.१% गरिबीको रेखामुनि छ र पाँच वर्ष मुनिका १९.६% बालबालिका कुपोषित छन्।[१२] झारखण्ड मुख्यतया ग्रामीण क्षेत्र हो र यसको जनसङ्ख्याको लगभग २४% शहरमा बसोबास गर्दछन्।[१३] यो आर्थिक वृद्धिको मामलामा अग्रणी राज्यहरू मध्ये एक हो।[१४] सन् २०१७–१८ मा राज्यको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर १०.२२ प्रतिशत रहेको थियो।[१५] भारत सरकारद्वारा सञ्चालित सन् २०११ को जनगणना अनुसार यस राज्यको आधिकारिक साक्षरता दर ६७.६३% (पुरुष: ७८.४५%; महिला: ५६.२१%) रहेको थियो जसमा राज्यमा पुरै राष्ट्रको औसत साक्षरता दर भन्दा नौ जिल्लाहरूको साक्षरता दर बढी थियो।[१६][१७]

शब्दोत्पत्ति

विभिन्न हिन्द-आर्य भाषाहरूमा "झार" शब्दको अर्थ वन र खण्डको अर्थ भूमि हो। यस प्रकार "झारखण्ड"को अर्थ वन भूमि हो।[१८]

प्राचीन कालमा महाभारतमा यस क्षेत्रलाई कर्क रेखा अर्थात् कर्कट रेखाको नजिक रहेको कारण कर्कखण्ड भनिएको थियो।[१९] मध्यकालीन समयमा यस क्षेत्रलाई झारखण्डको नामले चिनिन्थ्यो। भविष्य पुराण (१२०० ईस्वी) का अनुसार झारखण्ड सात पुन्द्रा देसामध्ये एक थियो। पूर्वी गङ्गा वंशका नरसिंहदेव द्वितीयको शासनकालदेखि उडिसा क्षेत्रको केन्द्रपाडामा १३औँ शताब्दीको ताम्रपत्रमा यो नाम पहिलो पटक फेला परेको हो। बैधनाथ धामदेखि पुरीसम्मको वन क्षेत्र झारखण्ड भनेर चिनिन्थ्यो। अकबरनामामा पूर्वमा पञ्चेतदेखि पश्चिममा रतनपुर, उत्तरमा रोहतासगढ र दक्षिणमा उडिसाको सिमानालाई झारखण्ड भनिन्थ्यो।[२०][२१]

इतिहास

प्राचीन काल

यो क्षेत्रमा मध्यपाषाण-ताम्रपाषाण कालदेखि बसोबास भएको पाइन्छ, जुन धेरै प्राचीन गुफा चित्रहरूले देखाउँदछ।[२२][२३][२४] मध्यपाषाण र नवपाषाण कालको छोटा नागपुर पठार क्षेत्रबाट पत्थरका औजारहरू पत्ता लगाइएको छ। इस्को, हजारीबाग जिल्लामा प्राचीन गुफा चित्रहरू छन् जुन मध्य-ताम्रा काल (९०-५००० ईसा पूर्व) का हुन्।[२२] ईसापूर्व दोस्रो सहस्राब्दीको दौडान छोटा नागपुर पठारमा तामाका औजारहरूको प्रयोग फैलिँदै गएको पाइन्छ र। पलामु जिल्लामा सोन र उत्तरी कोयल नदीहरूको सङ्गममा रहेको काबरा-काला ढिस्कोमा विभिन्न पुरातात्विक वस्तुहरू र कला वस्तुहरू फेला परेका छन् जुन नवपाषाणदेखि मध्ययुगीन कालसम्मका छन्।[२३] सिंहभूम जिल्लाबाट धेरै फलामका अवशेष, ढुङ्गा र गमलाहरू फेला परेका छन् जुन कार्बन काल निर्धारण विधि अनुसार १४०० ईसा पूर्वदेखिका छन्।[२५] यस क्षेत्रमा प्राचीन कालमा नन्द, मौर्य र गुप्त सहित धेरै साम्राज्य र राजवंशहरूले शासन गरेका थिएँ।[२४]

महाभारतमा यस क्षेत्रलाई कर्कट रेखाको नजिक रहेको हुनाले कर्कखण्ड भनिएको थियो।[१९] लगभग ५०० ईसा पूर्व महाजनपदको युगमा, झारखण्ड राज्य मगध र अङ्गको एक भाग थियो। मौर्य कालमा, यस क्षेत्रमा धेरै राज्यहरूद्वारा शासन गरिएको थियो, जुन सामूहिक रूपमा अटाविका (वन) राज्यहरूको रूपमा चिनिन्थ्यो। अशोकको शासनकालमा मौर्य साम्राज्यको आधिपत्य स्वीकार्न बाध्य भएका थिएँ। सारिडकेलको प्राचीन स्थलमा जलेका इँटाका घरहरू, रातो भाँडाकुँडाका, तामाका औजार, सिक्का र फलामका औजारहरू फेला परेका थिएँ जुन इस्वी संवत्को सुरुका शताब्दीका हुन्। ब्राह्मी शिलालेख खुन्टी जिल्लामा फेला परेको थियो जुन ईसापूर्व तेस्रो शताब्दीको हो। समुद्रगुप्तले हालको छोटानागपुर क्षेत्र (उत्तर र दक्षिण) को माध्यमले शासन गर्ने क्रममा महानदी घाटीमा दक्षिण कोशलाको राज्यविरुद्ध पहिलो आक्रमणको निर्देशन दिएका थिएँ।[२६]

मध्यकालीन समय

सातौँ शताब्दीमा, चिनियाँ यात्री जुआनजाङ यस क्षेत्र हुँदै गएका थिएँ। उनले राज्यलाई कर्णसुवर्ण र शशांकलाई शासकको रूपमा वर्णन गरेका थिएँ। कर्ण-सुवर्णको उत्तरमा मगध, पूर्वमा चम्पा, पश्चिममा महेन्द्र र दक्षिणमा उडिसा थियो।[२७]

मध्ययुगीन कालमा यस क्षेत्रमा नागवंशी, पाला, खयरवल, रामगढ राज र चेरो शासकको शासन थियो।[२८] हजारीबागमा एक बौद्ध गुम्बा फेला परेको थियो जुन १०औँ शताब्दीमा पाल शासनको समयमा निर्माण गरिएको थियो। भीम कर्ण मध्ययुगीन कालमा नागवंशी राजा थिएँ।[२९]

नवौँ शताब्दीको शिव मन्दिर

आधुनिक काल

सन् १५७४ मा राजपुत राजा मानसिंहले विजय प्राप्त गरेपछि सम्राट अकबरको शासनकालमा मुगल प्रभाव पलामुमा पुगेको थियो।[३०] मुगल शासनको समयमा धेरै आक्रमणहरू भएका थिएँ। नागवंशी राजा मधु सिंहको शासनकालमा अकबरका सेनापतिले खुखरामाथि आक्रमण गरेका थिएँ। दुर्जन शाहको शासनकालमा पनि आक्रमण भएको थियो।[३१]

राजा राम शाहले सन् १६४० देखि १६६३ सम्म नवरत्नगढमा शासन गरेका थिएँ। उनले सन् १६४३ मा कपिलनाथ मन्दिरको निर्माण गरेका थिएँ।[३२] उनको उत्तराधिकारी उनका छोरा रघुनाथ शाह थिएँ। सन् १६९१ मा राँचीको जगन्नाथ मन्दिरलाई ठाकुर अनिनाथ शाहदेवले निर्माण गरेका थिएँ। राजा मेदिनी रेले सन् १६५८ देखि १६७४ सम्म पलामूमा शासन गरेका थिएँ। उनको शासन दक्षिण गया र हजारीबागका क्षेत्रहरूमा फैलिएको थियो।[३३] उनले नवरत्नगढमा आक्रमण गर्दै र छोटानागपुरका नागवंशी महाराजालाई पराजित गरेका थिएँ। पलामु क्षेत्रमा चेरो शासन १९औँ ईस्वीसम्म चलेको थियो, जबसम्म विभिन्न गुटहरू बीचको आन्तरिक द्वन्द्वले चेरोसलाई कमजोर बनायो र उनीहरू इस्ट इन्डिया कम्पनीसँग पराजित भएनन्। पछि पलामूको सम्पत्तिलाई अङ्ग्रेजहरूले बेचेका थिएँ।[३४]

भूगोल

झारखण्ड भारतको पूर्वी भागमा अवस्थित छ र यसको पूर्वी भागमा पश्चिम बङ्गाल, पश्चिममा छत्तीसगढउत्तर प्रदेश, उत्तरी भागमा बिहार र दक्षिणी भागमा उडिसाले घेरिएको छ।

झारखण्डको भौगोलिक क्षेत्रफल ७९ लाख ७० हजार हेक्टर रहेको छ। झारखण्डको अधिकांश भाग छोटा नागपुर पठारमा अवस्थित छ। धेरै नदीहरू छोटा नागपुर पठारबाट गुज्रन्छन् जसमा दामोदर, उत्तरी कोयल, बाराकर, दक्षिण कोयल, शङ्ख र सुवर्णरेखा नदीहरू पर्दछन्। यी नदीहरूको उच्च जलाधार झारखण्ड राज्यभित्र फैलिएको छ। झारखण्ड राज्यको अधिकांश भाग अझै पनि जङ्गलले घेरिएको छ। जङ्गलले हात्ती र बाघको सङ्ख्यालाई धान्दछ।

झारखण्डको भौगोलिक नक्सा

जलवायु

झारखण्डको जलवायु उत्तरमा आर्द्र उपोष्णकटिबन्धीय देखि दक्षिण-पूर्वमा उष्णकटिबन्धीय ओसिलो र सुख्खा सम्म अवस्थित छ।[३५] मुख्य ऋतुहरूमा ग्रीष्म, वर्षा, शरद, हिउँद र वसन्त पर्दछन्। गर्मी अप्रिलको मध्यदेखि मध्य जुनसम्म रहन्छ। मे महिनाको सबैभन्दा गर्मी महिना हो, जहाँ दैनिक उच्च तापक्रम ३७ डिग्री सेल्सियस (९९ डिग्री फारेनहाइट) र कम तापक्रम २५ डिग्री सेल्सियस (७७ डिग्री फारेनहाइट) हुन्छ। जुनको मध्यदेखि अक्टोबरसम्म दक्षिण-पश्चिम मनसुनले राज्यको लगभग सबै वार्षिक वर्षा ल्याउँदछ, जुन राज्यको पश्चिम-मध्य भागमा लगभग १,००० मिमी (४० इन्च) देखि दक्षिण-पश्चिममा १,५०० मिमी (६० इन्च) भन्दा बढी हुन्छ। वार्षिक वर्षाको लगभग आधा भाग जुलाईअगस्टमा पर्छ। जाडो याम नोभेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ। डिसेम्बरमा राँचीको तापक्रम सामान्यतया १०–२४ डिग्री सेल्सियस (५०–७५ डिग्री फारेनहाइट) सम्म हुन्छ। वसन्त ऋतु फेब्रुअरीको मध्यदेखि मध्य अप्रिलसम्म रहन्छ।[३६]

पहाड र हिमशृङ्खलाहरू

  • पारसनाथ: पारसनाथ पर्वतलाई श्री सम्मेद शिखरजीको नामले पनि चिनिन्छ। पारसनाथ पर्वत झारखण्डको गिरीडीह जिल्लामा अवस्थित छ। यो एक प्रमुख जैन तीर्थस्थल हो र जैनहरूको लागि पवित्र स्थान हो। जैन संस्कृतिमा २४ तीर्थङ्करमध्ये २० जनाले यस स्थानबाट मोक्ष प्राप्त गरेको विश्वास गरिन्छ। यस डाँडाको उचाइ १,३६५ मिटर रहेको छ।
  • नेतरहाट: नेतरहाट लातेहार जिल्लामा अवस्थित एक सहर हो। "छोटानागपुरकी रानी"को रूपमा चिनिन्छ, यो एक हवाखोरी हो। नेतरहाट आवासीय विद्यालय यहाँ स्थित छ। नेतरहाट बाँध पनि यस क्षेत्रमा अवस्थित छ।
  • राजमहल पहाड: यी पहाडहरू झारखण्डको पूर्वी भागको साहिबगन्ज र गोड्डा जिल्लामा अवस्थित छन्। राजमहल पहाडहरू जुरासिक युगका हुन्। अन्य पहाडमा जस्तै यी पहाडहरूमा पनि धेरै झरनाहरू, तालहरू र हरियालीहरू छन्।
  • त्रिकुट पहाड देवघरबाट १० किलोमिटरको दूरीमा अवस्थित छ र झारखण्डको दुमका जाने बाटोमा अवस्थित छ। त्रिकुट डाँडामा ३ वटा प्रमुख चुचुरा भएकाले यसलाई त्रिकुच्छल पनि भनिन्छ। त्रिकुट पहाडको उचाइ २४७० फिट रहेको छ।
  • मारोबादी पर्वत: मारोबादी पर्वतलाई टेगोर पहाडको नाममा पनि परिचित छ। यो राँचीमा अवस्थित छ। रवीन्द्रनाथ ठाकुरका भाइ ज्योतिरिन्द्रनाथ ठाकुरले सन् १९०८ मा राँचीको भ्रमण गरेका थिएँ।[३७]

मुख्य नदीहरू

  • गङ्गा नदी: पवित्र नदी गङ्गा उत्तर-पूर्वी जिल्ला साहेबगन्ज हुँदै बग्दछ।
  • सोन नदी: सोन नदीको उद्गम स्थल अमरकण्टक हो।
  • सुवर्णरेखा नदी: सुवर्णरेखा नदीको उद्गम: (नागदी राँची) छोटा नागपुर पठार हो। सुवर्णरेखा नदीको किनारमा रहेका सहरहरूमा राँची, चण्डिल, जमशेदपुर, घाटशिला, गोपीबल्लभपुर हुन्।
  • खडकई नदी: खडकाई नदीको उद्गमस्थल: मयूरभञ्ज जिल्ला, उडिसा हो। यस नदीको किनारमा रहेका सहरहरू: रायरङ्गपुर, आदित्यपुर पर्दछन् र यो नदी उत्तर-पश्चिमी जमशेदपुरमा सुवर्णरेखा नदीमा प्रवेश गर्दछ।
  • दामोदर नदी: दामोदर नदीको उत्पत्ति: छोटा नागपुर पठार (तोरी लातेहार), दामोदर नदीको किनारमा अवस्थित सहरहरूमा लातेहार, लोहरदगा, रामगढ, गिरिडीह, धनबाद, बोकारो, आसनसोल, रानीगन्ज, दुर्गापुर, बर्धमान पर्दछन्।
  • उत्तरी कोयल नदी: उत्तरी कोयल नदीको उत्पत्ति छोटा नागपुर पठार हो।, उत्तरी कोयल नदीको तटमा अवस्थित सहरमा डाल्टनगन्ज पर्दछ।
  • दक्षिणी कोयल नदी: यस नदीको उद्गमस्थल छोटा नागपुर पठार हो। यसको किनारमा अवस्थित सहरहरूमा मनोहरपुर र राउरकेला पर्दछ।
  • लीलाजन नदी: यो नदीलाई फाल्गु नदी पनि भनिन्छ।
  • अजय नदी: यो उद्गमस्थल: मुङ्गेर हो। अजय नदीको किनारका सहरहरूमा पुरुलिया, चित्तरञ्जन, इलामबजार, जयदेव केन्दुली पर्दछन्।
  • मयूराक्षी नदी: यसको उद्गमस्थल त्रिकुट पर्वत हो। मयूराक्षी नदीको किनारमा रहेको सहर सुरी हो।
  • बराकार नदी: यस नदीको उद्गमस्थल पद्मा हो। बराकर नदी कोडरमा, गिरिडीह, हजारीबाग, आदि जिल्लाहरू हुँदै बग्दछ।

वनस्पति र जीवजन्तु

झारखण्डमा विभिन्न प्रकारका वनस्पति र जीवजन्तुहरू पाइन्छन्। झारखण्ड राज्यका राष्ट्रिय निकुञ्ज र आरक्षणहरूले प्रजातिको विविध स्वरूप प्रस्तुत गर्दछ।

झारखण्ड राज्यमा पाइने वनस्पति र जीवजन्तुको विविधताको कारणको एक भागलाई प्रोजेक्ट टाइगर अन्तर्गत पलामू बाघ आरक्षको मान्यता दिन सकिन्छ। यो आरक्ष सयौँ प्रजातिका वनस्पति र जीवजन्तुहरूको बासस्थान हो।[३८] स्तनधारी (३९), सर्प (८), छेपारो (४), माछा (६), कीरा (२१), चरा (१७०), बीउ बोक्ने बोटबिरुवा र रूखहरू (९७), झाडी र जडीबुटी (४६), परजीवी र अर्ध-परजीवी (२५), र घाँस र बाँस (१७) समावेश छन्।

जनसाङ्ख्यिकी

ऐतिहासिक जनसङ्ख्या
वर्षजन.±%
सन् १९०१ ६,०६८,२३३—    
सन् १९११ ६,७४७,१२२+११.२%
सन् १९२१ ६,७६७,७७०+०.३%
सन् १९३१ ७,९०८,७३७+१६.९%
सन् १९४१ ८,८६८,०६९+१२.१%
सन् १९५१ ९,६९७,०००+९.३%
सन् १९६१ ११,६०६,०००+१९.७%
सन् १९७१ १४,२२७,०००+२२.६%
सन् १९८१ १७,६१२,०००+२३.८%
सन् १९९१ २१,८४४,०००+२४%
सन् २००१ २६,९४५,८२९+२३.४%
सन् २०११ ३२,९८८,१३४+२२.४%
स्रोत: भारतको जनगणना[३९]

सन् २०११ को भारतीय जनगणना अनुसार झारखण्डको जनसङ्ख्या ३ करोड २९ लाख ६० हजार रहेको छ जसमा १ करोड ६९ लाख ३० हजार पुरुष र १ करोड ६० लाख ३० हजार महिला रहेका छन्।[४०] यसको लिङ्ग अनुपात ९४७ महिला र १,००० पुरुष रहेको छ।[४०] राज्यको साक्षरता दर ६७.६३% रहेको छ जसमा राँची जिल्ला ७७.१३% सहित सबैभन्दा बढी शिक्षित रहेको छ भने ग्रामीण पाकुड जिल्लाको साक्षरता दर सबैभन्दा कम अर्थात् ५०.१७% रहेको छ।[४०]

भाषाहरू

झारखण्डको भाषा (सन् २०११ जनगणना)[४१][४२]

  खोरठा (२३.४६%)
  हिन्दी (२१.४%)
  सन्थाली (९.९१%)
  बङ्गाली (९.७४%)
  नागपुरी (७.२३%)
  उर्दू (५.९६%)
  मगही (४.१४%)
  हो (३.०१%)
  मुण्डारी (२.९३%)
  कुरुख (२.८९%)
  भोजपुरी (२.२९%)
  ओडिया (१.६१%)
  अन्य (५.५%)

हिन्दी झारखण्डको आधिकारिक भाषा हो।[३] यद्यपि विभिन्न क्षेत्रहरूको आफ्नै भाषाहरू छन्। यसमा नागपुरी, खोर्था, कुर्माली, मगही र भोजपुरी समावेश छन्। झारखण्डले अङ्गिका, बङ्गाली, भोजपुरी, भूमिज, हो, खरिया, कुरुख, खोर्था, कुर्माली, मगही, मैथिली, मुण्डारी, नागपुरी, ओडिया, सन्थालीउर्दू भाषालाई अतिरिक्त आधिकारिक भाषाको दर्जा दिएको छ।[४][४३][३]

धर्म

राँची स्थित सूर्य मन्दिर; राज्यमा हिन्दु धर्मको बाहुल्यता रहेको छ।

झारखण्डमा धर्म (सन् २०११)[४४]

  हिन्दु (६७.८३%)
  इस्लाम (१४.५३%)
  सारना (१२.५२%)
  इसाई (४.३%)
  सिख (०.२२%)
  अन्य (०.४%)
  उल्लेख छैन (०.२१%)

सन् २०११ को जनगणना अनुसार राज्यमा हिन्दु धर्म ६७.८%, इस्लाम १४.५% र इसाई धर्म ४.३% रहेको छ।[४४] अन्य धर्महरू, मुख्यतया सारना, जनसङ्ख्याको १२.८% रहेको छ।[४५]

झारखण्डका २४ जिल्लामध्ये १९ जिल्लाहरूमा हिन्दुको बाहुल्यता रहेको छ।[४४] सिमडेगा जिल्लामा इसाई धर्मको बाहुल्यता (५१.०४%) रहेको छ। लोहरदगा (५१.०१%), पश्चिम सिंहभूम (६२.२९%) र गुमला (४४.६२%) र खुन्टी (४५.३७%) मा सारना धर्मको बहुमत रहेको छ।[४६] झारखण्डको पाकुड जिल्ला र साहेबगन्ज जिल्लामा मुसलमानहरूको सबैभन्दा बढी उपस्थिति रहेको छ जुन जनसङ्ख्याको ३५% र ३४% हुन आउँछ।[४७]

सरकार र प्रशासन

झारखण्ड सरकारको संवैधानिक प्रमुख राज्यपाल हो, जसलाई भारतका राष्ट्रपतिले नियुक्त गर्छन्। वास्तविक कार्यकारी अधिकार मुख्यमन्त्री र मन्त्रिपरिषद्मा निहित हुन्छ। विधान सभामा बहुमत प्राप्त राजनीतिक दल वा राजनीतिक दलहरूको गठबन्धनले सरकार गठन गर्दछ।

राज्यको कर्मचारीतन्त्रको प्रमुख मुख्यसचिव हुन्छ। यस पद अन्तर्गत, भारतीय प्रशासनिक सेवा, भारतीय प्रहरी सेवा, भारतीय वन सेवा र राज्य नागरिक सेवाका विभिन्न शाखाहरूबाट तानिएका अधिकारीहरूको पदानुक्रम हो। न्यायपालिकाको नेतृत्व प्रधान न्यायाधीशले गर्छन्। झारखण्डमा एक उच्च अदालत छ जुन २००० देखि सेवारत छ। सरकारका सबै शाखाहरू राज्यको राजधानी राँचीमा अवस्थित छन्।

प्रशासनिक जिल्लाहरू

यो राज्य १८ जिल्लाहरू मिलेर बनेको थियो जुन पहिले दक्षिण बिहारको भाग थियो। यी मध्ये केही जिल्लाहरूलाई पुनर्गठित गरी ६ वटा नयाँ जिल्लाहरू बनाइयो जसमा लातेहार, सराइकेला खरसावाँ, जामताडा, पाकुड, खुन्टी र रामगढ पर्दछन्। हाल यस प्रदेशमा ५ वटा विभाग र २४ वटा जिल्ला रहेका छन्। झारखण्डको एउटा चाखलाग्दो कुरा के छ भने लोहरदगा र खुँटी बाहेक यसका सबै जिल्लाहरूको सीमा छिमेकी राज्यसँग जोडिएको छ।[४८]

विभाग र जिल्लाहरू

मुख्य सहरहरू

झारखण्डका मुख्य सहरहरू
(सन् २०११ को भारतीय जनगणना)[४९]

क्रमसहरजिल्लाजनसङ्ख्याक्रमसहरजिल्लाजनसङ्ख्या
जमशेदपुर
बोकारो
०१जमशेदपुरपूर्वी सिंहभूम१,३३९,४३८०७फुसरोबोकारो१८६,१३९
०२धनबादधनबाद१,१९६,२१४०७हजारीबागहजारीबाग१५३,५९५
०३राँचीराँची१,१२६,७४१०८गिरीडीहगिरीडीह१४३,६३०
०४बोकारोबोकारो५६४,३१९०९रामगढरामगढ१३२,४४१
०५देवघरदेवघर२०३,१२३१०मेदिनीनगरपलामू१२०,३२५

अर्थतन्त्र

सन् २०२०–२१ मा झारखण्डको कुल ग्राहस्थ उत्पादन ३.८३ लाख करोड भारु (४८ अर्ब अमेरिकी डलर) हुने अनुमान गरिएको छ। सन् २०१८-१९ मा झारखण्डको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन ८२,४३० भारु (१,००० अमेरिकी डलर) रहेको थियो।[५०]

धनबादस्थित कोइला खानी उत्खनन क्षेत्र

झारखण्डमा धेरै सहरहरू र असङ्ख्य गाउँहरू छन् जहाँ नागरिक सुविधाहरू छन्। शहरीकरण अनुपात २४.१% रहेको छ।[५१] झारखण्डमा अथाह खनिज स्रोतहरू पनि रहेका छन् जसमा फलाम अयस्क, कोइला, तामा अयस्क , अभ्रक, बक्साइट, म्यागनिज, चुनढुङ्गा, चीन माटो, अग्नि माटो, ग्रेफाइट, काइनाइट, क्रोमाइट, एस्बेस्टस , थोरियम , सिलिमानाइट, युरेनियम (जडुगुडा खानी) र सुन जस्ता खनिजहरू पाउन सकिन्छ।जमशेदपुर, धनबाद, बोकारोराँची जस्ता केन्द्रहरूमा कोइला र फलाम अयस्कको ठुलो भण्डारले उद्योगको एकाग्रतालाई समर्थन गर्दछ। टाटा स्टिल, जस्तो ठुलो कम्पनीले प्रधान कार्यालय र मुख्य संयन्त्र टाटानगर, झारखण्डमा अवस्थित छ।[५२] यसले सन् २००५ मा, ₹२०४९१० करोड कुल आम्दानी गरेको थियो। राष्ट्रिय तापविद्युत निगम लिमिटेडले सन् २०११–१२ मा राज्यको क्याप्टिभ खानीबाट कोइला उत्पादन सुरु गरेको थियो, जसका लागि कम्पनीले करिब १८ अर्ब भारू लगानी गरेको थियो।[५३]

कृषि झारखण्डको अर्थतन्त्रको अर्को क्षेत्र हो जसले अर्थव्यवस्थालाई वृद्धि गर्न मद्दत गर्दछ। झारखण्डका किसानहरूले धान, गहुँ, मकै, दलहन, आलु र गोलभेडा, गाजर, बन्दागोभी, भाण्टा, कोदो र मेवा जस्ता तरकारीहरू उत्पादन गर्छन्। अन्य उद्योगमा सूचना प्रविधि उद्योग पर्दछ।[५४]

संस्कृति

झारखण्ड राज्य देशको पूर्वी भागमा अवस्थित छ र यो ज्वलन्त संस्कृति, विशिष्ट चित्रकला, परम्परा र उत्सवहरूको लागि चिनिन्छ।[५५]

परिकार

झारखण्डको खाना

झारखण्डको मुख्य खाद्य पदार्थ चामल, दाल, तरकारी र कन्दमूल हुन्। खानामा मसलाको कम प्रयोग गरिन्छ। छिलका रोटी, मालपुआ, पिठा, धुस्का, अर्सा रोटी, दुधौरी र पानीपुरी प्रसिद्ध परिकार हुन्।[५६][५७] रुग्रा र पुटु एक प्रकारको खाद्य च्याउ हो जुन झारखण्डमा व्यापक रूपमा खेती गरिन्छ र वर्षाको महिनामा काटिन्छ।। बाँसका हाँगाहरू पनि तरकारीको रूपमा प्रयोग गरिन्छ।[५८] सैजनकोइरालोको रूखको पात सागको रूपमा प्रयोग गरिन्छ।[५९]

स्थानीय अल्कोहलयुक्त पेयपदार्थहरूमा चामलको बियर समावेश छ, जसलाई मूलरूपमा हाँडिया भनेर चिनिन्छ, यसलाई बनाउन प्रयोग गरिने माटोको भाँडाको नामबाट यसको नामाकरण गरिएको छ। हँडिया सांस्कृतिक रूपमा स्थानीय अर्थात् सदन र आदिवासीसँग जोडिएको छ, यो पेय पुरुष र महिला दुवैले विवाह र अन्य चाडहरूमा सामाजिक अवसरहरूमा सेवन गर्छन्।[६०][६१] अर्को सामान्य रक्सीलाई मौवा दारु भनिन्छ, जुन "मौवा" रूखको फूलबाट बनाइन्छ।[६२]

लोक सङ्गीत र नृत्य

झारखण्डको एक गाउँमा छउ नृत्य

झारखण्डमा झुमइर, मर्दानी झुमर, जननी झुमर, डमकच, विन्सरिया, झुम्टा, फागुआ, अङ्गनै, पाइकी, छउ, फिर्कल, मुण्डारी र सन्थाली नृत्य जस्ता धेरै लोक नृत्यहरू छन्।[६३]

चाडपर्व

झारखण्डका प्रमुख स्थानीय चाडहरू सरस्वती पूजा, सरहुल, तुसू पर्व, रथयात्रा, मकर सङ्क्रान्ति, दुर्गा पूजा, करम, नवखानी, जितिया, मनसा पूजा, दीपावली, सोहराई, फागु, दशहरा, रामनवमी, मागे पौरोब, र सेन्द्रा पर्व हुन्।[६४]

चित्रकला

झारखण्डमा सोहराई भित्तेचित्र

सोहराई र खोवर चित्रकला महिलाहरूले अभ्यास गर्ने भित्तेचित्र कला हो। सोहराई चित्रकला परम्परागत रूपमा सोहराई उत्सवमा गरिन्छ, जबकि खोवर चित्रकला विवाहमा गरिन्छ।[६४]

चलचित्र

झारखण्डले नागपुरी, खोर्था, सन्थाली, हो र कुरुख लगायत क्षेत्रीय र आदिवासी भाषाहरूमा धेरै चलचित्रहरू निर्माण गर्दछ।[६५] झारखण्ड राज्यको चलचित्र उद्योगलाई झलिउडको रूपमा चिनिन्छ।[६६][६७]

पर्यटन

झारखण्ड झरना, पहाड र पवित्र स्थलका लागि प्रख्यात छ।[६८][९] पारसनाथ, वैद्यनाथ धाम, माँ देउडी मन्दिर र छिन्नमस्ता मन्दिर प्रमुख धार्मिक स्थलहरू हुन्।[६९][७०]

तात्तापानी तातोपानीको मुहान लातेहारबाट ८ किलोमिटरको दुरीमा अवस्थित छ। सुकरी नदीको किनारमा विभिन्न स्थानबाट तातो पानीको मुहानको पानी निस्कन्छ। तातोपानीको झरना औषधीय गुण र छालाको लागि राम्रो मानिन्छ।[७१]

इटखोरी हिन्दु, बौद्ध र जैन धर्मावलम्बीका लागि पवित्र स्थल हो। गौतम बुद्धले बोधगयाको यात्रा सुरु गरेको स्थान यही हो भन्ने विश्वास गरिन्छ। सन् २०१८ मा हिन्दु, जैन र बौद्ध कला शैलीका धेरै मूर्तिहरू फेला परेका थिएँ।[७२][७३] जडुगोडाको राङ्किणी मन्दिर झारखण्डका साथै उडिसा, पश्चिम बङ्गालबिहारमा प्रसिद्ध छ।[७४][७५][७६] राज्यमा जोन्हा झरना, हुन्द्रु झरना, दासम झरना, परवाघग झरना र पाँचघघ झरना सहित धेरै झरनाहरू छन्।[७७][७८] नेतरहाट राज्यको एक हावाखोरी हो।[७९][८०][८१]

झारखण्डमा बेतला राष्ट्रिय निकुञ्ज र दलमा वन्यजन्तु अभ्यारण्य सहित धेरै वन्यजीव अभयारण्यहरू छन् जुन पर्यटकहरूको लागि प्रमुख आकर्षण हुन्।[८२][८३][८४][८५]

राँचीमा एक जनजातीय अनुसन्धान संस्थान र सङ्ग्रहालय छ जसको उद्देश्य मनोवैज्ञानिक कारकहरूको अध्ययन गर्नु हो जसले सहरी वातावरणमा किशोर ग्रामीण आदिवासी विद्यार्थीहरूको प्रकृतिको परिवर्तनमा योगदान पुर्‍याउँछ।[८६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

सरकार

साधारण जानकारी

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड