विश्व सम्पदा क्षेत्र

संयुक्त राष्ट्र सङ्घिय अङ्ग युनेस्को द्वारा बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ ।[१] यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने (जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर) धरोहरहरूलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समिति द्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वाधानमा गर्दछ ।

विश्व सम्पदा समितिको लोगो

यस कार्यक्रमको उद्देश्य विश्वको यस्तो स्थलहरूलाई सूचीबद्ध गर्ने तथा संरक्षित गर्ने हुन्छ जुन विश्व संस्कृतिको दृष्टिले मानवताको लागि महत्त्वपूर्ण हुन्छ । केहि खास परिस्थितिमा यस्तो सम्पदाहरूलाई यस समिति द्वारा आर्थिक सहयोग पनि प्रदान गर्ने गरिन्छ । सन् २०१३ सम्ममा १६० राष्ट्रका ९८१ क्षेत्रलाई विश्व सम्पदाका रूपमा सूचीकृत गरिएको छ जसमा ७५९ सांस्कृतिक, १९३ प्राकृतिक र २९ मिश्रत रहेका छन् ।[२]

प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ तर अन्तर्राष्ट्रिय समुदायको हितमा पनि यहि बेश हुन्छ कि आउने पिढीलाई तथा मनावताको हितको लागि पनि यस्ता विशेष सम्पदाको संरक्षण गरियोस । तथापि पुरै विश्व समुदायलाई यसको संरक्षणको जिम्मेवारी रहन्छ ।[३]

इतिहास

विश्वको सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण विषयमा अधिवेशन
हस्ताक्षर१६ नोभेम्बर १९७२
स्थानपेरिस,फ्रान्स
कार्यान्वयन१७ डिसेम्बर १९७५
अवस्था२० अनुममर्थन
सदस्य१९१ (१८७ संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र साथै कुक टापु, द होलि सी, नियु र प्यालेस्टाइन)
जम्माकर्तासंयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठनको महासचिब
भाषाहरूअरबिक, अङ्ग्रेजी, फ्रेञ्च, रसियन र स्पेनी

सन् १९५९ मा इजिप्ट सरकारले अस्वान बांध बनाउने निश्चय गर्‍यो । यसले प्राचीन सभ्यता बोकेको नाइल नदी छेउको उपत्यका नुबियामा रहेको अनेकौ बहुमुल्य खजानाहरूलाई बाँधको पानीले बगाउनु निश्चित थियो । त्यस समय युनेस्कोले इजिप्टसुडान सरकारलाई आग्रह गर्नुका साथै यसको रक्षा गर्नका निमित्त विश्वव्यापी रक्षा उपाय अभियान चलायो ।[४] यस अभियानले गर्दा यो निश्चित गरियो कि त्यहाँ रहेका हजारौं पुरातात्विक सम्पदाहरू र सबैभन्दा एतिहासिक र चर्चित अबु सिम्बल र फिलेलाई कुनै अग्लो स्थानमा पुनर्स्थापित गरियो । यस अभियानको अन्त्य सन् १९८० मा भयो जसलाई पूर्ण रूपले सफल मानियो । विशेष रूपले अभियानमा सहयोग गर्ने राष्ट्रलाई इजिप्टले आफ्नो चारवटा मन्दिरहरू उपहार स्वरूप प्रदान गर्‍यो जसमा: डेनडुर मन्दिरलाई न्यु योर्क सहरको महानगरीय कला सङ्ग्रहालयमा, डेबोद मन्दिरलाई म्याड्रिडको पार्क डेल ओएस्तोमा, तफेह मन्दिरलाई नेदरल्याण्डको रिज्क्स सङ्ग्रहालयमा र इलिसिया मन्दिरलाई तुरिनको म्युजियो इगीजियोमा सारिएको थियो। [५]

यस परियोजनाको लागत लगभग $८० मिलियन थियो जसमध्ये $४० मिलियन ५० राष्ट्रहरूबाट जम्मा गरिएको थियो । यस अभियानलाई व्यापक रूपमा पूर्ण सफलता मानिएको थियो र यसै अभियानबाट प्रेरित भएर अनेकौँ अभियान चलाईयो (जस्तै भेनिस र उसको लगुनको संरक्षण इटालीमा, मोहन जोदडो पाकिस्तानमा र इन्डोनेसियामा बोरोबोदर मन्दिर प्राङ्गन) । त्यस पश्चात युनेस्कोले अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषदसँग पहल गरेर एउटा सम्मेलन गर्‍यो जसले मानवताको सार्वजनिक साँस्कृतिक धरोहरहरूलाई संरक्षण गर्नेछ ।

सम्मेलन र पृष्ठभूमि

सर्वप्रथम संयुक्त राज्यले सांस्कृतिक संरक्षणको प्राकृतिक संरक्षण संगै सँयुक्त गर्ने सुझाव दिएको थियो ।

नामाङ्कन प्रक्रिया

कुनै पनि देशले सर्वप्रथम आफ्नो महत्त्वपूर्ण सांस्कृतिक र प्राकृतिक सम्पदाको एउटा सूची बनाउनु पर्ने हुन्छ । यसलाई प्रारम्भिक सूची पनि भन्ने गरिन्छ । यो आवश्यक छ, किन भने त्यो राष्ट्रले यस्तो कुनै सम्पदालाई नामाङ्कन नगरोस जसको नाम त्यस सुचिमा पहिले देखि नै सम्मलित छैन अर्को त्यस राष्ट्रले यस सुचि मध्ये कुनै सम्पदालाई चयन गरेर नामाङ्कन फाइलमा हाल्न सक्छ । विश्व सम्पदा समितिले कुनै पनि राष्ट्रलाई फाइल बनाउदा चाहिएको सल्लाह तथा सहयोग गर्ने कार्य गर्दछ ।

त्यस फाइललाई स्वतन्त्र रूपले दुई सङ्गठनहरु अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद तथा विश्व संरक्षण सङ्घद्वारा मुल्यांकन गर्ने गरिन्छ । यस संस्थाहरूले पछि विश्व सम्पदा समितिलाई सूचीको सिफारिश पठाउछ । समितिको बैठक वर्षमा एक पटक हुन्छ जसमा नामांकित सम्पदालाई विश्व सम्पदा सूचीमा राख्ने अथवा नराख्ने भन्ने बिषयमा निर्णय गर्ने गरिन्छ । जानकारी अपुग भएको अवस्थामा यस समितिले आफ्नो निर्णयलाई सुरक्षित राख्दछ । युनेस्कोले कुनै पनि सम्पदालाई सूचीमा सुचिकृत गर्न १० मापदण्ड बनाएको छ जसमध्ये सुचिकृत हुन कम्तीमा एउटा मापदण्ड पुरा गर्नु पर्दछ ।

नेपालमा रहेका विश्व सम्पदा क्षेत्रहरु

युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा (सांस्कृतिक र प्राकृतिक) लाई सूचीकृत गरिएका छन् । सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौँ उपत्यकाभित्रका सात स्मारक क्षेत्र (तीन वटा ऐतिहासिक दरवार, दुई वटा बौद्ध स्तुप र दुई वटा हिन्दू मन्दिर स्मारक) र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। उपत्यकाका ती सम्पदालाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

  • काठमाडौँ दरवार क्षेत्र - यो क्षेत्र काठमाडौँ नगरको मध्यमा छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा महत्त्वपूर्ण स्मारकमा तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत मुख्य आकर्षणका स्मारक हुन् ।
  • पाटन दरवार क्षेत्र - कलाको शहरका रूपमा परिचित पाटन दरवार क्षेत्रमा रहेका स्मारक अधिकांश १६ औँ देखि १८ औँ शताब्दीसम्म निर्माण गरिएका हुन् । प्रायः राजा सिद्धिनरसिंह, श्रीनिवास र योगनरेन्द्र मल्लले निर्माण गर्न लगाएका थिए । मूलचोक, सुन्दरीचोक, मणिकेशवनारायण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर लगायतका मुख्य आकर्षणका क्षेत्र हुन् । ढुङ्गाबाट निर्मित कृष्ण मन्दिरको वरिपरि रामायण र महाभारतका दृश्य कुँदिएका छन् ।
  • भक्तपुर दरवार क्षेत्र - भक्तपुरको मुख्य नगर राजा आनन्ददेवले स्थापना गर्न लगाएको गोपालराज वंशावलीमा उल्लेख छ । तैपनि यो शहर लिच्छविकालीन हुनसक्ने अनुमानसमेत गरिएको छ । सिंहद्वार, स्वर्णद्वार, चारधाम, ५५ झ्याले दरवार, तौमडी, न्यातपोल मन्दिर, दत्तात्रेय मन्दिर, पूजारीमठ आदि हेर्न लायक छन् । यहाँका प्रमुख स्मारकमा सिंहद्वार, स्वर्णद्वार, चारधाम, पचपन्न झ्याले दरबार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पूजारी मठ, भूपतेन्द्र मल्लको सालिक आदि रहेका छन् । यहाँको पचपन्न झ्याले दरबार त राजा यक्ष मल्लको समयमा सन् १४२७ मा बनेको र सत्रौँ शताब्दीमा आएर राजा भूपतेन्द्र मल्लका पालामा पुनर्निर्माण गरिएको हो । कला सङ्ग्रहालय यहाँको अर्को उल्लेख थलो हो ।
  • पशुपतिनाथको मन्दिर - विश्वभरिका हिन्दूको पवित्रस्थलका रूपमा रहेको पशुपतिनाथ मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । भारतको चार धामको दर्शनपछि पशुपतिनाथको दर्शन गरेमात्र चारधामको दर्शन पूरा हुने मान्यता रहेको सो मन्दिर राजा भूपालेन्द्र मल्लले निर्माण गर्न लगाएको मानिन्छ ।
  • स्वयम्भूनाथ - काठमाडौँ उपत्यकाको पश्चिमतर्फको पद्मकण्ठ गिरि पहाडको थुम्कोमा रहेको स्वयम्भूनाथ अति प्रसिद्ध बौद्ध मन्दिर र चैत्य हो । ३६० वटा खुड्किलो पार गरेपछि स्वयम्भूनाथको महाचैत्यमा पुग्न सकिन्छ । लिच्छविकालमा निर्माण गरिएको स्वयम्भू क्षेत्रमा थप्रै स्तुप छन् ।
  • बौद्धनाथ - काठमाडौँको बौद्धमा रहेको ३६ मिटर अग्लो बौद्धनाथ स्तूप दक्षिण एसियाकै ठूला स्तूपमध्ये एक हो । मण्डल आकारमा रहेको बौद्धनाथ स्तुपको निर्माण पाँचौं शताब्दीमा भएको हो । आठौँ शताब्दीमा यसको जीर्णोद्धार गरिएको थियो । पाँचौ शताब्दीमा अर्थात् लिच्छविकालमा निर्माण गरिएको बौद्धनाथ निर्माण गर्दा १२ वर्ष लागेको बताइन्छ ।
  • चाँगुनारायण मन्दिर - भगवान विष्णुको मन्दिरका रूपमा रहेको चाँगुनारायणको निर्माणका बारेमा आजसम्म पनि तथ्य फेला पर्न सकेको छैन । विष्णुको मन्दिरको रूपमा रहेको चाँगुनारायणको निर्माण चौथौ शताब्दीमा भएको बताइन्छ । यहाँ रहेको शिलालेखले यो मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिरमध्ये एक रहेको जनाउँछ । यहाँका प्रस्तर, काष्ठ तथा धातुकला उदाहरणीय छन् । यहाँका उल्लेख्य कलामा विश्वरूप, विष्णु विक्रान्त, नरसिंह विष्णु आदि रहेका छन् ।
  • लुम्बिनी - ईशापूर्व ६२३ मा बुद्ध जन्मिएको स्थल । काठमाडौँबाट करिब तीन सय किलोमिटर दक्षिण-पश्चिममा अवस्थित लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर, अशोक स्तम्भ, शाक्य पुष्करिणी तलाउ आदि रहेका छन् । यहाँ विभिन्न मित्रराष्ट्रले बौद्ध स्तूप निर्माण गरेका छन् । यहाँ सङ्ग्रहालय र अनुसन्धान केन्द्र पनि रहेको छ ।
  • चितवन राष्ट्रिय निकुञ्ज - सन् १९७३ मा स्थापित यो निकुञ्जमा वन्यजन्तु तथा सयौँ प्रजातिका वनस्पतिको अवलोकन गर्न सकिन्छ । तराईको समथर मैदानमा रहेको यो राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज एसियाकै संरक्षित क्षेत्रमध्ये एकको रूपमा रहेको छ । वनस्पति तथा वन्यजन्तुका निकै सम्पन्न चितवन राष्ट्रिय निकुञ्ज पाटेबाघ, एक सिङ्गे गैंडा, घडियाल गोही आदि जस्ता दुर्लभ जनावरको महìवपूर्ण वासस्थलको रूपमा रहेको छ ।
  • सगरमाथा राष्ट्रिय निकुञ्ज - सन् १९७६ मा स्थापित पूर्वी नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यस निकुञ्ज क्षेत्रमा विश्वकै सर्वाच्च शिखर सगरमाथा पनि छ । यसै निकुञ्जभित्र छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चो ओयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिम चुचुराहरू पर्दछन् । कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, झारल आदि यहाँका मुख्य वन्यजन्तु हुन् ।

यस वाहेक नेपालले सन् १९९६ र त्यसपछिका वर्षमा गरी अहिलेसम्म १५ वटा विभिन्न सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसमक्ष आग्रह गरेको छ । यी सम्पदाका बारेमा भने निर्णय हुन बाँकी छ । नेपालद्वारा प्रस्तावित सम्पदा हुन् :-

  • १. पनौतीको मध्यकालीन वास्तुकला क्षेत्र - (सन् १९९६)
  • २. प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिरौलाकोट - (सन् १९९६)
  • ३. मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला - (सन् १९९६)
  • ४. गोरखास्थित मध्यकालीन दरबार क्षेत्र - (सन् १९९६)
  • ५. रामग्राम - (सन् १९९६)
  • ६. खोकना - (सन् १९९६)
  • ७. लो मान्थाङ - (सन् २००८)
  • ८. बज्रयोगिनीसाँखुका प्रारम्भिक बस्ती - (सन् २००८)
  • ९. कीर्तिपुरको मध्यकालीन वस्ती - (सन् २००८)
  • १०. रूरू क्षेत्रको ऋषिकेश हाता - (सन् २००८)
  • ११. नुवाकोट दरबार क्षेत्र - (सन् २००८)
  • १२. रामजानकी मन्दिर - (सन् २००८)
  • १३. तानसेनको मध्यकालीन नगर - (सन् २००८)
  • १४. सिंजा उपत्यका - (सन् २००८)
  • १५. दैलेखेको भुर्ती मन्दिर क्षेत्र - (सन् २००८)

सन्दर्भ सुची

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड